काठमाडाैंः नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्काले राजधानीमा जारि काठमाडाैं मेयर कप- २०७७ मा शतक बनाएका छन्। त्रिभुवन आर्मी क्लबविरूद्ध लिग चरणकाे अन्तिम खेलमा बागमती प्रदेश टाेलीका ब्याट्सम्यान पारसले शतक बनाएका हुन्।
कूल एक सय ३३ बलमा पारसले ११ चाैका र दुई छक्कासहित एक सय १९ रनकाे शानदार पारि खेले। पारसकै शतकीय पारिकाे मद्दतमा किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई दुई सय ६६ रनकाे चुनाैतीपूर्ण लक्ष्यसमेत दिएकाे छ।
टस जितेर पहिला ब्याटिङ गरेकाे बागमतीले कप्तान ज्ञानेन्द्र मल्ललाई ११ रनमै गुमाएकाे थियाे। तर तेस्राे विकेटका लागि पारस खड्काले इशान पाण्डेसँग महत्त्वपूर्ण ७३ रनकाे साझेदारी गरेपछि बागमतीले खेलमा पुनरागमन गरेकाे थियाे।
यता आर्मीका लागि बलर सोमपाल कामीले दश ओभरमा ६५ रन खर्चेर पाँच विकेट लिए। बिक्रम सोबले एक विकेट, जितेन्द्र मुखियाले एक विकेट तथा साहब आलम र करण केसीले एक एक विकेट लिए।
बागमतीले फाइनलमा स्थान कायम गर्न आर्मीलाई ठूलो अन्तरले हराउनुपर्ने दबाव छ।
प्रतिक्रिया