काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।
विप्लव समूहसँग आज बिहान भएको वार्तामा प्रतिबन्ध फुकुवा गर्ने लगाएतका ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रतिबन्ध हटेको हो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको थियो।
यसैगरी सम्पूर्ण राजनीतक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी हुने पनि सहमतिपत्रमा उल्लेख छ।
सहमतिको विस्तृत विवरण भोली दिउँसो २ बजे विशेष समारोह गरि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार भोलीको कार्यक्रमलाई प्रधानमन्त्री ओली र विप्लवले संवोधन गर्नेछन्।
यसअघि बुधबार दुई चरणमा वार्ता भएको थियो। वार्तामा सरकारी पक्षबाट भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र विप्लव पक्षबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए।
हेर्नुहाेस् विज्ञप्तिसहित
प्रतिक्रिया