सुर्खेत : राउटे अगुवा दिलबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर आफ्नो समुदायको लागि सहयोग मागेको छन्।
मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो गर्दै बस्नका लागि चाहिने पाल र खानाको व्यवस्था गरिदिन माग गरेका हुन्।
उनीहरुलाई दैलेखको गुराँसे गाउँपालिकाले मासिक भत्तास्वरुप प्रतिव्यक्ति तीन हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। ‘अहिले गाउँपालिकाले दिने भत्ता पाएका छैनौँ, खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको हुँ, उनले भने ‘मेरा जनता भोकले मर्न आँटे, म पनि भोकै यहाँ आएको छु पेटभन्दा ठूलो केही छैन, सरकारले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो।’
उनले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।
राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्।
राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोसी र ठेकी उपहार दिएका थिए। त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरुले कोसी उपहार दिएका थिए। प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर उनीहरू फर्केका थिए।
सङ्घीय सरकारले प्रतिराउटे मासिक तीन हजार रुपैयाँ दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता थपेको छ।
प्रतिक्रिया