काठमाडौं : विश्वभर कोरोना महामारी नियन्त्रणमा लिन खोप लगाउने क्रम जारी रहेको छ। विश्वमा हाल परीक्षणपश्चात् आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेको छ।
यसै कारण खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टिबडी रहन्छ भन्नेबारेमा हालसम्म विज्ञहरुले स्पष्ट जवाफ दिएका छैनन्। अहिलेसम्मको अनुसन्धानले खोप लगाइसकेकामा विशेषतः तीन सातापछि एन्टिबडी विकास भएको पाइएको छ तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टिबडी विकास नहुन पनि सक्छ। हाल खोप कम्पनी एवं वैज्ञानिकका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टिबडी विकास भई पाँचदेखि छ महिना वा एक वर्षसम्म पनि एन्टिबडी रहिरहन्छ। दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधि खाइरहेका, स्नायुसम्बन्धी औषधि सेवन गरेका, गर्भवती, स्तनपान गरिरहेकाले भने खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन्।
खोप लगाएपछि देखिने असर
सुई लगाएको भागमा दुख्ने, सुन्निने, गाँठो पर्ने, टाउको दुख्ने, जिउ र जोर्नीहरु दुख्ने जस्ता असर देखिन सक्छ। त्यसैगरी रुघाखोकी लाग्दा फ्लू जस्ता लक्षण देखिने, मध्यम ज्वरो आउने, वाकवाक लाग्ने जस्ता लक्षण पनि देखिन सक्छन्।
अनुमति प्राप्त खोप लगाउँदा पनि असर देखिने गरेको छ। जसका कारण कतिपय मानिसहरु खोप लगाउन डराइरहेको अवस्था छ। तर विज्ञहरुले खोप लगाएपछि देखिने असर सामान्य रहेको र थोरै मानिसमा मात्रै त्यस्तो असर देखिने गरेको बताउने गरेका छन्।
नेपालमा करिब २ हजारलाई मात्रै असर
नेपालका कोभिड–१९ विरुद्धको खोपबाट एक हजार ९११ लाई मात्रै सामान्य प्रकारको असर देखिएको पाइएको छ । माथि उल्लेखित असर देखिए पनि केही दिनमा आफैँ ठीक भएका छन्। तीमध्ये नौ जनालाई गम्भीर प्रकारका उच्च ज्वरो आएको सरकारी अधिकारीले बताएका छन्। हाल सबैलाई ठीक भइसकेको स्वास्थय तथा जनसंख्या मन्त्रालयका कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।
उनका अनुसार यही फागुन १० गतेसम्मको विवरणमा नेपालमा ४ लाख २९ हजार ७०५ जनालाई खोप दिइएको छ। यो कूल जनसङ्ख्याको एक दशमलव चार प्रतिशत हो । खोप लगाउने नागरिकको यो सङ्ख्या उत्साहप्रद रहेको मन्त्रालयको विश्लेषण छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनिका नामको बायोफर्माक्युटिकल इन्स्टिच्युटबाट कोभिशिल्ड खोप नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले गत माघ २ मा स्वीकृति दिएको थियो।
यो खोप कम्तीमा आठ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्छ। यो बायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ । हालसम्म नेपालले अन्य कुनै कम्पनीको खोप प्रयोगका लागि स्वीकृति दिएको छैन।
प्रतिक्रिया