लेटेस्ट न्युज
advertisement1

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, यस्तो राजनीतिक यात्रा

Maryada News 2023-03-09 20:41:46
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, यस्तो राजनीतिक यात्रा

मर्यादा न्युज, काठमाडौं  । 

नेपालले बिहीबार तेस्रो राष्ट्रपतिको रुपमा कांग्रेसका रामचन्द्र पौडेललाई पाएको छ । राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । 

३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।

  कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । 

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् ।

 पौडेलको राजनीतिक यात्रा 

तनहुँको ब्यासमा २९ असोज २००१ मा उनको जन्म भएको थियो । कांग्रेस पार्टीबाट ६ दशक राजनीतिमा सक्रिय रहेका पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

एकपटक सभामुख, ५ पटक मन्त्री र ६ पटक सांसद रहेका उनी प्रधानमन्त्रीमा लगाता १७ पटकसम्म संसदमा एमाले उम्मेदवार झलनाथ खनालसँग पराजित भएका थिए । तर, बिहीबार १० दलको समर्थनमा उनी देशकै प्रमुख पदमा पुगेका छन् । 

२०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका उनी २०३४ सालमा तनहुँबाट जिल्ला सदस्य भएर कांग्रेसबाट सक्रिय राजनीतिमा होमिए । यसअघि उनी २०२७ सालमा नेविसंघको संस्थापक सदस्य रहेका हुन् । 

तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा संसद् भङ्ग गरेपछि भएको आन्दोलनमा उनी सहभागी भएका पौडेल तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेकोमा विरोधमा उत्रिएका नेता हुन् ।  

२०४३ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख भएका पौडेल त्यसपछि निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा छन् । २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसमेत सम्हालिसकेको अनुभव पौडेलसँग छ ।

यस्तै, २०७४ सालबाहेक २०४८ सालदेखि हालसम्म सातपटक सांसद भएका उनी २०५१ सालमा प्रतिनिधिसभाका सभामुखको जिम्मेवारी सम्हाले । २०६५ मा कांग्रेस संसदीय दलको नेता बनेका पौडेलले संसदमा विपक्षी दलको नेताको रुपमा आफ्नो जिम्मेवारी पूरा गरे । 

पहिलोपटक २०४८ सालमा स्थानीय विकास मन्त्री बनेका पौडेल त्यसपछि २०४९ सालमा कृषिमन्त्री, २०५६ सालमा उपप्रधानमन्त्रीसहित सूचना/सञ्चारमन्त्री, स्थानीय विकास र गृहमन्त्री र  २०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री बने ।
प्रजातन्त्र र लोकतन्त्रका लागि भएका आन्दोलनमा सहभागी हुँदा पौडेल पटकपटक गिरफ्तार मात्र भएनन् १५ वर्ष जेल जीवनसमेत बिताए । उनै पौडेललाई आगामी पाँच वर्षका लागि देशले राष्ट्रपतिको रुपमा पाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्