लेटेस्ट न्युज
advertisement1

खोटाङको हलेसी तुवाचुङ तीनमा बन्यो एमालेको महिला मात्रको कमिटी 

Maryada News 2021-10-25 01:06:20
खोटाङको हलेसी तुवाचुङ तीनमा बन्यो एमालेको महिला मात्रको कमिटी 

खोटाङ : नेकपा एमाले खोटाङले हलेसी तुवाचुङ नगरपालिका तीन च्यास्मीटारमा महिला मात्रको वडा कमिटीको गठन गरेको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

एमाले च्यास्मीटारका वडाध्यक्षमा निर्वाचित भलाराज राईले महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण देखाएको बताए । ‘महिलालाई अवसर दिनुहुँदैन, महिलाले केही गर्न सक्दैनन्’ भन्ने पुरुषवादी सोचको अन्त्यका लागि पार्टीको वडा कमिटीको ‘स्टेरिङ’ महिलालाई दिइएको वडा अध्यक्ष राईले बताए । ‘महिलालाई नेतृत्वमा पु-याउनुपर्छ, अवसर दिनुपर्छ भन्ने सोच त छँदै छैन । यो पुरातन सोच त्याग्नुपर्छ’, राईले भने, ‘हामीले इतिहास रच्ने प्रयास गरेका हौँ । महिलाको क्षमतामा विश्वास गर्नुपर्छ भन्ने उदाहरण देखाउन खोजेका छौँ ।’

वडा कमिटीको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उपसचिवमा अस्मिता राई र प्रेमकुमारी बिकलाई चयन गरिएको एमालेले जनाएको छ । ११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, दुर्छिम र धितुङको वडा अधिवेशन ८ कात्तिकमा हुने एमालेले जनाएको छ ।

विवादका कारण राजापानीको वडा अधिवेशन ९ कात्तिकमा पालिका अधिवेशनकै दिन टुंग्याउने सहमति बनेको नगरपालिकाका एमाले नेता एवं युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले बताए । दुईवटा नगरपालिका र आठवटा गाउँपालिका रहेको जिल्लाका ७९ वडामध्ये अधिकांश वडाको अधिवेशन सम्पन्न भइसकेको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुइचुम्मा गाउँपालिका ५ सछितापोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका ७ टेम्मा, रावाबेँसी गाउँपालिका ६ हौँचुरको वडा अधिवेशन ८ कात्तिकमा हुने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए । स्थानीय शिक्षिका मृत फेला परेपछि हौँचुरमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको हो ।

आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका दुई हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदै छन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसहित सदस्य चयन गर्नेछन् । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्