काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूहदेखि प्रमुख प्रतिपक्षी दललगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन दवाव वढाएका छन्।
मंगरबार साँझ अदालतको फैसला आउनेवित्तिकै चितवनमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन चेतावनी दिएका थिए। ‘अलिकति पनि लाज, घिन र इज्जत छ भने प्रधानमन्त्री पदमा अब नबसे हुन्छ,’ त्यहाँ आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘नैतिकताको आधारमा राजीनामा दिनुस्।’
प्रचण्ड र बामदेव गौतमको एउटै स्वर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भए पनि कुनै समूहमा नगएरर पार्टी एकताकाे लागि लागिपरेका उपाध्यक्ष वामदेव गौतमले पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन ढिला नगर्न सुझाएका छन्। प्रचण्ड र बामदेव जस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अब प्रधानमन्त्रीले राजीनामा दिएर निकासको बाटो खोल्नुपर्ने बताएको छ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। ‘उहाँ (प्रधानमन्त्री) ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो,’ उनले भने, ‘तर अदालतले सो कदमलाई असंवैधानिक भनिसकेको अवस्थामा अब प्रधानमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्छ।’
त्यसैगरी विवेकशील साझा पार्टीले अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ। विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिनुपर्ने विवेकशील साझा पार्टीको धारणा छ।
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने चौतर्फी दवाव वढिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्री ओलीले राजीनामा नदिने प्रष्ट पारिसकेका छन्।
थापाले गए राती नै आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ, तत्काल राजीनामा दिनुहुने छैन।’
प्रतिक्रिया