काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० औं महाधिवेशन तथा निर्वाचन आगामी नोभेम्बर ३० भित्र गर्ने निर्णय गरेको छ । शनिबार कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय समेत गरेको संघका सचिव गौरीराज जोशीले जानकारी दिए । यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।
मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो । बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।
संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।
प्रतिक्रिया