काठमाडौँ : नेकपा (एमाले)को स्थायी कमिटीको आइबारको बैठक सकिएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्मका लागि तय गरिएको छ । त्यसमा तीन वटा प्रस्ताव पेस हुने भट्टराईले बताए। ’विधान संशोधनसम्बन्धी, राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल सुरु भएको छ,’ उनले भने ।
स्थायी कमिटीमा सुरु भएको प्रस्तावहरुमाथिको छलफलमा आज अमृत बोहरा, केशव बडाल, पुष्प कडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए । बैठक भोलि पनि बस्नेछ ।
’बाँकी स्थायी कमिटी सदस्यले आफ्नो सुझाव राखेर यो प्रतिवेदनलाई आवश्यक सुझावको आधारमा परिमार्जन गरेर ८ र ९ गते आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा पेस हुनेछ । र, केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेत समावेश गरीकन असोज १५, १६ र १७ गतेको राष्ट्रिय विधान महाधिवेशनमा दस्तावेजहरु प्रस्तुत हुने छन्,’ भट्टराईले भने ।
प्रतिक्रिया