कfठमाडौं: सर्वोच्च अदालतको आदेशपछि एमालेका दुई सांसदहरूले नयाँ दल रोज्न सक्ने भएका छन् । मंगलबार अदालतको आदेशपछि प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्न पाउने भएका हुन् ।
न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले भारतमा उपचाररत रहेका झलनाथ खनालको हकमा नेपाली दूतावासमार्फत् सनाखत गराएको र भदौ ९ गते दल दर्ताका क्रममा सनाखत गराउँदा पाण्डे र भट्टको नाम समावेश हुने÷नहुने कुनै निर्णय निर्वाचन आयोगले नगरेको भन्दै सर्वोच्चले यसको परिणामस्वरुप दलीय आवद्धको हैसियतमा असर पर्ने देखिएकाले उनीहरूलाई रोजेको पार्टीमा जाने बाटो खुलाएको हो ।
आदेशमा भनिएको छ, ‘निवेदकहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दलमा आवद्ध हुने गरी भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरुको सो दलमा आबद्ध हुने पाउने हकमा असर पर्नेगरी कुनै काम कारबाही नगर्नु, नगराउनु भनि प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरुका नाउमा अन्तरिम आदेश जारी गरिएको छ ।’
समाजवादीमा सनाखत गर्न नपाउँदा सांसद पद गुम्ने भएपछि उनीहरु भदौ २३ मा अदालतमा पुगेका थिए ।
प्रतिक्रिया