बैतडी- जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिदैँछ। बलात्कारपछि हत्या गरिएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो।
गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले जानकारी दिएका छन्। सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टले बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु बयान दिदैँ आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए ।
बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो।
प्रहरीले बुधबार चडेपानीकै भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए। तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो।
त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन।
गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।
प्रतिक्रिया