काठमाडौं : नेपाल–भारतबीच रेलसेवा सम्झौताको संशोधनमा हस्ताक्षर भएसँगै वीरगन्जमा आधारित भएर हुने आयात–निर्यात व्यापार देशको अन्य सीमावर्ती सहरमा पुग्ने भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेल्वे बोर्डका एडिसनल मेम्बर सुशान्तकुमार मिश्रले संशोधन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
संशोधनमा नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय निजी रेलसेवा उपयोग गर्ने मुख्य विषय समेटिएको छ । यस्तै, सम्झौतामा नेपालमा भारतीय रेलको प्रवेशबिन्दु वीरगन्ज रहेकोमा अब रेलसेवाको पूर्वाधार भएको सीमावर्ती सहरमा पनि आयात–निर्यात व्यापारमा सहज हुन सक्ने सुविधा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।
संशोधन भएको सम्झौतामा भारतीय रेलसेवा सञ्चालनमा ल्याउन अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनररवागनहरू नेपाललक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने र निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाललक्षित ढुवानी गर्न–गराउन सकिने व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए ।
त्यस्तै, नेपाललक्षित परिवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकातारहल्दियासम्म रेलसेवा दिन सक्ने गरी सम्झौता संशोधन भएको छ ।
हाल वीरगन्जसम्म रेल सञ्चालन भएकोमा विराटनगर, भैरहवा र नेपालगन्ज, दोधारा, चाँदनीलगाएतका स्थानमा रेलसेवाको पूर्वाधार तयार भएपछि सेवा उपलब्ध हुने र नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन बिन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरूको सहमतिका आधारमा रेल सञ्चालन हुँदै जाने पनि सहमतिमा व्यवस्था गरिएको छ ।
प्रतिक्रिया