कास्कीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले आज प्रदेश सभामा विश्वासकाे मत लिने भएका छन्। शुक्रबार बिहानै बाढी प्रभावित मनाङबाट फर्किएका पाेखरेलले आज ११ बजे प्रदेश सभामा विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ।
यसअघि बाढी प्रभावित क्षेत्रकाे निरीक्षण गर्न गएका मुख्यमन्त्री मनाङमै अड्किएपछि मिति सार्नेबारे पनि छलफल भएको थियो। तर, उनी बिहानै पाेखरा फर्किएपछि आजै विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ।
विपक्षी चार दलको गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका पाेखरेलले संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। मुख्यमन्त्री पोखरेललाई उनकाे दल कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेकाे छ।
यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया