लेटेस्ट न्युज
advertisement1

मनका उथलपुथलहरु

मनका उथलपुथलहरु

हरेक वर्ष झैँ यसपाली पनि चेरी फुल्यो, झर्‍यो । रुखमा फुल्दासम्म मान्छेहरुले आहा ! वाह ! गर्दै चेरीको बयान गर्दै तस्बिर खिचे । चेरीलाई टिपेर टाउकोमा सजाए। सम्झनाको लागि समयको दस्तावेज तयार पारे अनि नओइलाउञ्जेल र आफुलाई अप्ठ्यारो नहुन्जेल हातमा खेलाए। नजिकैबाट चेरीको सौन्दर्यतालाई नअघाउञ्जेल आँखाले सुटुक्क-सुटुक्क पिए अनि मात्तिएर मदमत्त भएपछि बाटोको डस्टबिनमा फ्यात्त फालिदिए। चेरी बिचरी आफ्नो बचाउको लागि के नै पो गर्न सक्थी र ?

रुखभरी फुलेका चेरीहरु हावाको झोक्काहरुसँगै ठोक्किएर भुईंभरि झरे। नियतिको खेल अघिसम्म टाउकोमा सजिएकी चेरी नचाहँदा नचाहँदै मान्छेहरुको पैतालामुनि थिचिइन्। साँच्चै नै यो संसारमा कोही पनि अनि केही पनि सुरक्षित छैनन् भन्दा फरक नपर्ला। पोखरीमा ठूला माछाहरुले सानो माछाहरुलाई सट्टै निलिदिन्छन्। आकाशमा बाजहरु आफ्नो सिकारको लागि ताक हेरिरहेका हुन्छन्। समय कसैको वशमा छैन, उसलाई कसैको प्रवाह पनि छैन न त  कसैको पीडाले उसलाई पोल्छ नै। ऊ आफ्नै रफ्तारमा एकनास हुँईंकिन छोड्दैन।

चाहे जे होस्, शिशिरले नङ्ग्याईदिएका रुखहरुमा वसन्तसँगै फेरि बहार आएको छ। रुखहरु नव दुलहीझैँ सिङ्गारिएर लाजले घुम्टो हालिरहेझैँ भान हुन्छ। तर प्रकृतिको यो मनमोहक दृष्यहरुले पनि मनलाई पटक्कै खुसी तुल्याएको छैन। मन एकतमासले बेचैन भईरहेछ। कोभिड-१९ को प्रकोपले थला परेको कर्म भूमि कोभिडविरुद्धको खोपले  बल्ल तङ्ग्रिएको छ भने यतिबेला जन्मभूमि थलिएर नराम्रोसँग ओछ्यानमै ढलेको छ। हरेक दिन देखिने र सुनिने नमिठा समाचारहरुले मनलाई उथलपुथल बनाई दिएको छ। आफूलाई निरीह प्राणी जस्तो महसुस गर्न बाध्य तुल्याई दिएको छ।

एकातिर देशका जनताहरु हरेक पल मृत्युसँग पौँठेजोरी खेलिरहेको बेला देशका राजनेता भनाउँदाहरु देश र जनताहरुको लागि एक हुनुको सट्टा आफ्नो कुर्सीको लागि देशको शासन व्यवस्था ढलाउन तत्पर भएको देख्दा आफैलाई धिक्कार्न मन लाग्छ। देशका नेताहरु आफ्नो जनतालाई आवश्यक परेको बेला जनताको लागि जुट्न र आवश्यक सहयोग गर्नतिर अग्रसर नभएर यस्तो विषम परिस्थितिमा पनि आफ्नै कुर्सीको लागि मरिमेटी रहन्छन् धिक्कार छ ती कपुतहरुलाई। यस्ता नामर्दहरु त बरु डाडुमा पानी तताएर मर्नु नि !

कोरोना आक्रामक शैलीमा जनतामाथि आई लागेको छ। कोरोनासँग जाई लाग्न सरकारले न त जनताहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न नै सकेको छ। त्यही एक डोज खोप पाएका जनताहरुलाई न त समयमा दोस्रो डोज खोप नै दिन सकेको छ। धत्तेरी ! सरकारको कस्तो लाचारीपन यो ? 

अर्कोतिर सुन्नमा आएको छ एक थरी मान्छेहरु गरिब, दुःखी जनताको रगत चुस्न र मासुको चोक्टा तान्न व्यस्त छन् रे। हाम्रो देशका ती जुकाहरुलाई  मर्न नै पर्दैन कि क्या हो रु अजम्बरी नै लिएर आएका झैँ पो गर्छन् रे त।  पाँच हजार रुपैयाँ पर्ने औषधिलाई ६०९ ७० हजारको मूल्यमा बजारमा बिक्री गर्दैछन् रे । हैन ती व्यापारीहरु मर्दा पैसाले नै जलाउन त्यसरी जनतालाई ठगेका हुन् कि क्या हो ? मनमा अलिकति पनि हरि, दया र माया नभएका ती राक्षसहरुको एउटै चिहान परे पनि रिस मर्दैन। ठग्नुको र कालो बजारीको पनि हद हुन्छ नि१ कसरी बाँच्ने देशका सोझासाझा जनता ? 

नेपालमा यत्तिबेला कोरोना डढेलो सल्केझैँ सल्किरहेको छ। यो डढेलोले कयौँ नेपालीको घर तहसनहस पारिसकेकोछ। आफ्नो देशमा न प्रशस्त अस्पताल छन् । अस्पताल पुगेका बिरामीहरुलाई  पनि न त आवश्यक औषधि र अक्सिजन नै पुर्याउन सकेकोछ। कोरोना आक्रामक शैलीमा जनतामाथि आई लागेको छ। कोरोनासँग जाई लाग्न सरकारले न त जनताहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न नै सकेको छ। त्यही एक डोज खोप पाएका जनताहरुलाई न त समयमा दोस्रो डोज खोप नै दिन सकेको छ। धत्तेरी ! सरकारको कस्तो लाचारीपन यो ? 

यस्तो जटिल परिस्थितिमा पनि जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमाथि पनि वैद्य ग्रुपका मान्छेहरुले कमिशनको कुरा नमिलेर जनताको स्वास्थमाथि खेलबाड गरेको भन्ने समाचार सुन्दा पत्याउन नै गाह्रो परिरहेछ। मान्छे पैसाको लागि यत्तिसम्म तल झरेर यस्तो निच र कठोर पनि बन्न सक्छ भनेर म त सोच्नै पनि सक्दिनँ। एकातिर जन्मभूमिमा कोरोनाविरुद्धको खोप पाउन नसकेर नेपाली जनता भकाभक दिन प्रतिदिन कोरोनाको सिकार हुनु परेको छ। अस्पताल पुगेका जनता पनि फर्किन्छन् या फर्किँदैनन् यसै भन्न मुस्किलै छ भने कर्मभूमि अमेरिकामा अमेरीकी सरकारले आफ्ना जनताहरुलाई लौ न प्रभू कोरोनाविरुद्धको खोप लगाई देउन भनेर हात जोड्दा पनि अमेरीकी जनताहरु वैज्ञानिक र डाक्टर भन्दा पनि धेरै जान्ने सुन्ने भएर खोप लिन हिच्किचाईरहेको देख्दा मलाई त ताज्जुब नै लागेको छ।

सरकारले लकडाउनको आदेश जारी गरिसके पनि राजधानीमा मच्छिन्द्र नाथको रथ तानियो। जहाँ हजारौँ भक्तजनहरुको सहभागिता देखियो। जुन पर्वको कारण कति जना कोरोना भाइरसको सिकार भए होलान् ! यसलाई पाप भन्ने कि पुण्य ? 

साना बच्चाहरुलाई ललिपप देखाएर फकाएको जस्तो गरेर स्थानीय न्युयोर्क राज्यमा सरकार घरी जनतालाई ट्रेनको एक हप्ताको पास फ्री दिन्छु भन्छ, घरी लङ आईल्याण्ड रेल रोडको र मेट्रो नर्थको दुवैतर्फको टिकट फ्री दिन्छु भन्छ भने घरी म्युजियमका पासहरु फ्री मा दिन्छु भनेर फकाएको फकाएै गरेको देख्दा अट्टहास गरेर हाँस्न मन लाग्छ। कोरोनाको यस्तो विषम परिस्थितिबाट गुज्रिरहेको परिस्थितिमा पनि नेपालका  जनताहरुले न त विवाह र व्रतबन्ध जस्ता सामाजिक कार्यक्रम गर्न छाडे न त आफन्त र साथी९भाईहरु सरिक भएर  भोज भत्तेर खान नै छाडे।

नेपालमा भएका क्रियाकलापहरु देख्दा कहिले काँही  त यस्तो लाग्थ्यो, हे.... यो कोरोना सोरोना त हाम्रो नेपालबाट भागिसकेछ। सरकारले लकडाउनको आदेश जारी गरिसके पनि राजधानीमा मच्छिन्द्र नाथको रथ तानियो। जहाँ हजारौँ भक्तजनहरुको सहभागिता देखियो। जुन पर्वको कारण कति जना कोरोना भाइरसको सिकार भए होलान् ! यसलाई पाप भन्ने कि पुण्य ?  यस्तो परिस्थितिमा यो जात्रा गर्नु कतिसम्म उचित थियो ? कि सरकार जानोस् कि त ती अजासु “हगि सकेर दैलो देख्ने”जनता र सरकार नै जानुन्। हैन हाम्रो नेपालीहरुको घैँटोमा घाम कहिले लाग्छ भन्या ? कहिले काँही त  “ दुः ख पाईस् मङ्गले आफ्नै ढङ्गले” भन्ने  बुढापाकाको उखान चरितार्थ भएको पो हो कि जस्तो पनि लाग्छ।

यो वर्ष भगवानसँग क्षमा पूजा मागेको भए के बिग्रन्थ्यो ? भगवान त सर्वव्यापी छन् । आफ्नो भक्तजनहरुको पिर मर्का बुझ्नु हुन्नथ्यो होला र ? अरुको त कुरै छाडौँ एक ताका देशका राजा र रानी भैसकेका मान्छेहरु त कोरोनाको यस्तो भयावह स्थितिमा पनि भारतको कुम्भ मेला भर्न छाडेनन् जसको कारण आफै कोरोनाको आक्रमणमा परेका छन् र उनैको कारण कयौँ जनता कोरोनाबाट सङ्क्रमित भए होलान् यसको लेखाजोखा कस्ले गर्यो होला र ?

भारतमा कोरोनाको प्रकोप बढिरहेकोछ भनेर जान्दाजान्दै पनि किन भारत भ्रमण गर्नु परेको ति बुढाबुढीलाई ? लौ जान त गए अनि त्यो कुम्भ मेला भर्न गएका चाहीँ किन ? अनि मोदी सरकारले कुम्भ मेलाको स्वीकृति दिएको किन ? यी प्रश्नहरु अनुत्तरित नै रहने कुरामा कुनै शङ्का छैन। हे आराध्य देव पशुपतिनाथ ! तिमी बाहेक हाम्रो सोझासाझा नेपालीहरुलाई यो महामारीमा साथ दिने र कृपा गर्ने कोही देखिनँ। हे प्रभु सबैको रक्षा गर्नुस्। यो भयङ्कर माहामारीबाट संसारलाई पार लगाउनुस्।

- लक्ष्मी श्रेष्ठ
सुन्दरीजल
हाल : अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

66.67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33.33%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्