सप्तरीः जिल्लाको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनकाे अस्पतालमै निधन भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए।
दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो। त्यसपछि एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए।
गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो। तीन दिनअघि मात्रै उनकाे पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो। बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइँ छ।
उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। मृतक चौधरीका श्रीमान् र सात वर्षीय एक छोरा छन्। यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रतिक्रिया