काठमाडाैंः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय नेताका अवसरवादी साेचका कारण कम्युनिष्ट पार्टीकाे एकीकरण अभियान निश्कर्षमा नपुगेकाे बताएका छन्। साेमबार २८ औं मदन-आश्रित स्मृति दिवसकाे अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादको मुख्य संवाहक बनाउने प्रयास केही नेताकाे सीमित स्वार्थका कारण पूरा हुन नसकेकाे बताएका हुन्।
तीन वर्षअघि आजकै दिन (जेठ ३) मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भए पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयासमा कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण माओवादी केन्द्रसँगको एकीकरणको अभियान निष्कर्षमा पुग्ने नसकेको विज्ञप्तिमा उल्लेख छ।
उनले कम्युनिष्ट पार्टी एकीकरणकाे विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गर्ने बताएका हुन्। एमालेका तत्कालिन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
यस्तै भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल नेतृत्व गरेकाे भन्दै उनकाे नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको बताएका छन्। उनले साेही जगमा पार्टी हालसम्म जनतामा लोकप्रिय भएको पनि उल्लेख गरे।
स्मृति दिवसका अवसरमा आज साेमबार एमालेको पुरानो केन्द्रीय कार्यालय रहेको स्थान मदननगर बल्खुमा भण्डारी र आश्रितप्रति श्रद्धाञ्जलित दिने कार्यक्रम रहेकाे छ। कोरोना महामारीका कारण खुल्ला कार्यक्रम भने आयोजना गरिएको छैन।
भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो।
प्रतिक्रिया