काठमाडौं : वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको छ । प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाका अनुसार अहिलेसम्म नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’, स्वतन्त्रबाट डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङको उमेदवारी दर्ता भएको हो ।
देवकोटा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट साझा उमेदवार हुन् भने उनी एमाले नेता माधवकुमार नेपालनिकट छन् । माओवादीले बादललाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । आज दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया