काठमाडौं : नेकपा एमालेकोमहाधिवशेन आयोजक समितिको बैठकले नेकपा एमालेको स्थायी कमिटी पुनगर्ठन गरेको छ । शुक्रबार बालुवाटारमा आयोजित बैठकले १८ सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।
पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।
यस्तै १८ सदस्यीय स्थायी कमिटीमा एक जना पनि महिला समावेश गरिएका छैनन् । सत्तारुढ दलकै स्थायी कमिटीमा महिला सहभागिता नहुनु दुःखद रहेको अधिकारकर्मीहरु बताउँछन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली नै देशको कूल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलालाई संविधानले ग्यारेन्टी गरेको अधिकार समेत दिन अनुदार देखिएका छन् ।
कमिटीमा माधव नेपाल र झलनाथ पक्षीय कुनै पनि नेताहरुलाई समेटिएको छैन । अध्यक्ष ओलीले नेता बामदेव गौतमलाई भने समेटेका छन् । गत २८ फागुनको बैठकबाट साविकको स्थायी कमिटी अध्यक्ष ओलीले खारेज गरेका थिए । यसअघि एमालेको कमिटीमा खनाल–नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए । उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन ।
प्रतिक्रिया