लेटेस्ट न्युज
advertisement1

राम्चेढुङ्गामा सांस्कृतिक सङ्ग्रहालय

Maryada News 2021-04-21 21:24:08
राम्चेढुङ्गामा सांस्कृतिक सङ्ग्रहालय

बागलुङ : गाउँले जनजीवन, कला र संस्कृति झल्कने गरी पर्यटकीयस्थल राम्चेढुङ्गामा सांस्कृतिक सङ्ग्रहालयको निर्माण थालिएको छ । सङ्ग्रहालयको भौतिक संरचना यही महीनाभित्रै सक्ने गरी काम भइरहेको हो । गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गामा उक्त सङ्ग्रहालयले नयाँ पर्यटकीय आकर्षण थप्नेछ । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष विष्णु थापाले मौलिक संस्कृतिको जगेर्ना र उत्थानमा सङ्ग्रहालयले टेवा पुग्ने बताए ।     
     
गण्डकी प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु ११ लाख बजेटबाट सङ्ग्रहालयको ‘ट्रष्ट’ भवन बन्न लागेको हो । दैनिक २५ कामदार भवन निर्माणमा खटिएको अध्यक्ष थापाको भनाइ छ । भवन निर्माणमा रु दुई लाखको जनश्रमदानसमेत जुटाइने भएको छ । संरचना खडा भएपछि परम्परागत वस्तु तथा सामग्रीको सङ्ग्रह गरिनेछ । “परम्परागत बाजा, वेषभूषा, भाँडाकुँडा, लोप हुन लागेका ढिंकी, जाँतो जस्ता सामग्री सङ्ग्रहालयमा राख्छौँ”, अध्यक्ष थापाले भने ।     
     
मौलिक परम्परा, रीतिथिती र पर्वको महत्व दर्शाउने खालका कलाकृति पनि सङ्ग्रहालयमा राख्ने केन्द्रको योजना छ । बजेट पनि सीमित भएकाले अहिले सानै संरचनाबाट सङ्ग्रहालय सञ्चालनमा ल्याइने र पछि यसलाई थप सुविधायुक्त तथा विस्तार गर्दै लगिने जनाइएको छ ।  अहिले बन्ने सङ्ग्रहालय भवन एकतले मात्र हुनेछ । पुरातात्विक महत्वका वस्तु तथा सामग्री राख्न सक्दा सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्रसमेत बन्नसक्ने विश्वास लिइएको छ । सङ्ग्रहालयले सिङ्गो गलकोट क्षेत्रको इतिहास, कला, संस्कृतिका साथै त्यहाँ रहेका सबै जातीय समुदायको पहिचान झल्काउने जनाइएको छ ।     
     
समुन्द्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । गलकोट र आसपासका आन्तरिक पर्यटकको रोजाइमा राम्चेढुङ्गा पर्न थालेको छ । छोटो अवधिको घुमघाम र वनभोजका लागि आउने पनि उत्तिकै हुन्छन् । त्यहाँ मनोरम प्रकृति, भू–वनोट र हिमशृङ्खलाको अवलोकन त्यहाँका मुख्य आकर्षण हुन् ।     
    
आगन्तुकको सुविधालाई हेरेर सडक, खानेपानी, शौचालय, वनभोजस्थल जस्ता संरचनाको निर्माण गरिएको छ । मञ्च, खेल मैदानलगायत पूर्वाधार पनि बनेका छन् । केन्द्रले पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धनको काम गर्दै आएको छ । पर्यटन विकासका काममा नगरपालिका र वडाको समेत लगानी छ । स्थानीयवासीले पनि आर्थिक सहयोग र श्रमदान गर्दै आएका छन् । केहीले जग्गासमेत निःशुल्क उपलब्ध गराएका छन् । पदमार्ग, दृश्यालोकन स्तम्भ, बगैँचा, विश्रामस्थल, मन्दिर, घरबासलगायतका संरचना बनाउने योजना केन्द्रको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्