सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रबार बस्ने प्रदेश सभाकाे बैठकमा विश्वासको मत लिने कार्यसूची राखेका छन्। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले विश्वासकाे मत पाउने/नपाउने टुङ्गो लाग्नेछ।
नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि शाही नेतृत्वकाे सरकार संकटमा परेकाे हाे। मुख्यमन्त्रीले विश्वासको मत लिनलाई प्रदेशसभाका २० सदस्यको मत पाउनुपर्छ। यद्यपि प्रदेशसभामा उनकाे दल नेकपा (माओवादी केन्द्र)का १२ सदस्य मात्र रहेका छन्।
माओवादी केन्द्रले नेपाली कांग्रेस र राप्रपाको समर्थन पाउने गरी संवाद भइरहेको जनाएको छ। प्रदेशसभामा कांग्रेसका ६ तथा राप्रपाका एक सदस्य छन् भने एमालेका सभामुखसहित २० सदस्य छन्।
एमाले प्रमुख सचेतक गुलाबजङ्ग शाहले सबै दल मिल्दासमेत मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था रहेको बताएका छन्। “पार्टी निर्णयअनुसार एमालेको सबै सांसद एकढिक्का भएको अवस्था छ”, उनले भने, “यदि मत बराबर नै भयो भने पनि सभामुखको मत निर्णायक हुनेछ।”
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। सो समयसीमाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्। एमालेले चैत ५ गते माओवादी केन्द्रका नेता शाही नेतृत्वको प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको थियो।
प्रतिक्रिया