काठमाडाैंः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिने भएकाे छ। पाेर्चुगलका लागि नेपालका अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले कुँवरकाे घर जग्गा राेक्का गराउन अनुराेध गर्ने भएकाे हाे।
कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलस्ले ११ नेपाली समुदायको नक्कली हवाई टिकट बनाएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ। हालसम्म एक सय ५० भन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ।
कुँवर हाल फरार छन्। नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले साे कार्यकाे विरोध गरेका थिए। उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए।
प्रतिक्रिया