ललितपुरः महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज मङ्गलबार बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब प्रदान गर्दै स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई साँचो हस्तान्तरण गरे।
सो सवारीसाधनलाई दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले व्यहोर्ने महर्जनले जानकारी गराए। जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने बताए। उनले भने, “महानगरपालिकाभित्र हालसम्म कूल पाँच सय ५२ ले अपाङ्गताको परिचयपत्र लिइसक्नुभयो। जस्मा बहुअपाङ्गता भएकाले मात्र यस सवारीसाधन प्रयोग गर्न पाउनुहुनेछ।”
साे सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले रु १६ लाख ७५ हजार रकम खर्च गरेकाे बताइएकाे छ। सो क्याबमा चार जना ह्वीलचेयरसहित पछाडि र अगाडि बस्न मिल्छ। बहुअपाङ्गता भएका व्यक्ति सविना डङ्गोल, सञ्जु महर्जन र उदयबहादुर पौडेललाई महानगरपालिका प्राङ्गणबाट केन्द्रको कार्यालयसम्म क्याब चढाएर लगिएकाे थियाे।
प्रतिक्रिया