काठमाडौं । पार्टीको आधिकारिकताको लागि विवाद गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । आयोगले नेकपाका दुबै पक्षलाई शुक्रबार विहान साढे ११ बजे आयोग परिसरमा बोलाएको हो ।
दुबै पक्षले अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई लैजान सक्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । यद्यपी हाल नेकपाको विभाजनको सन्दर्भ भएकाले सो विषयमापनि छलफल हुने बताइएको छ ।
आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय नजिक भएकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । निवेदनमाथि निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।
प्रतिक्रिया