बाँकेः चितुवाकाे छालासहित चारजना पक्राउ परेका छन्। बाँकेको बैजनाथ गाउँपालिकाकाे सुर्खेत-कोहलपुर सडकखण्डमा चितुवाकाे छाला तथा हड्डीको कारोबार भइरहेको सूचनाको आधारमा चेकजाँच गर्दा चितुवाकाे छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का ५० वर्षीय गंगाबहादुर खत्री, सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश खत्री, दैलेखको भगवतीमाई गाउँपालिका-४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला गाउँपालिका-४ का ३८ वर्षीय ३८ वर्षीय जयलाल नेपाली रहेका छन्।
चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका चार जनालाई चेकजाँच गर्ने क्रममा जयलाल नेपालीकाे झोलामा चितुवाकाे छाला १ र गंगबहादुर खत्रीले बोकेको प्लाष्टिकको बोराभित्र हड्डी २ केजी ५ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज को कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम एक लाखदेखि २५ लाख रूपैयाँसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैदको सजाय हुने व्यवस्था छ।
प्रतिक्रिया