लेटेस्ट न्युज
advertisement1

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

Maryada News 2021-03-05 20:26:14
टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

टोकियो : जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए ।  राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए ।।     
     
कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले सङ्कटकाल लम्ब्याउने निर्णय गरेका हुन् । प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थप्नु भएको हो । उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका हुन् ।    
     
उनले कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सवैलाई आह्वान गरेका हुन् । स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले सङ्कटकाल लम्ब्याउनु पर्नेमा जोड दिदै आएका थिए ।     
     
सङ्कटकाल लागु गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन् । बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ ।     
     
जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन् ।     
     
पछिल्लो २४ घण्टामा देशभरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ ।  कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्