बागलुङ- जिल्लाकाे तित्याङस्थित मनकामना मन्दिरबाट तीन लाख बराबरका सामाग्री चाेरी भएकाे छ। अज्ञात समूहले बुधबार राति मन्दिरका विभिन्न सामग्री चोरी गरेको हो ।
बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडामा अवस्थित मन्दिरबाट रू तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।
मन्दिरको ढोका अघि राखिएको २५ र १० किलोको एक थान घण्टी र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताए।
उनका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अम्खरा चाेरी भएको हाे। पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ।
बिहीबार बिहान मन्दिर पुग्दा मन्दिरका सामग्री चोरी भएको पाइएपछि प्रहरीलाई खबर गरेकाे पुजारीले बताए।
प्रहरी निरीक्षक लक्ष्मण देवकोटाका अनुसार शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ। चोर्न आउने व्यक्तिले मन्दिरमा रुमालसमेत छाेडेकाे छ। देवकाेटाका अनुसार चाेरकाे खाेजी तीव्र रुपमा भइरहेकाे छ।
प्रतिक्रिया