लेटेस्ट न्युज
advertisement1

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल    

Maryada News 2021-06-29 15:37:25
तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल    

राँझा : कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् । बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

उनका अनुसार, तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनु अगावै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रुपमा पूर्वतयारी गर्न भेरी अस्पतालसमेतका नाममा अन्तरिम आदेश दिएकाले पनि भेरी अस्पतालले पूर्वतयारीलाई अगाडि बढाएको छ । 

कोरोनाको दोस्रो लहरमा करिब एक हजार सङ्क्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी शुरु गरिएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताए । कोरोना सङ्क्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीब्रगतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको कोभिड अस्पतालका संयोजकसमेत रहेका उपनिर्देशक डा. श्रेष्ठले बताए ।

१ सय ३० शय्याको यो अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्न तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको छ । अस्पतालमा उपचाररत चारजना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएका छन् । तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले यहाँका अस्पतालले सोही अनुरुपको पूर्वतयारी शुरु गरेको बताइएको छ ।     
     
दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएकाले त्यसको व्यवस्थापनका लागि पाइपलाइन मर्मतसँगै विस्तार गर्नुपर्ने, सिप्याप मेसिन, अक्सिजन मास्कलगायतका उपकरण तयारी अवस्थामा राख्ने गरी पूर्व तयारीमा अस्पताल जुटेको छ । कोरोना दोस्रो लहरको सिकाइले अस्पतालमा शय्यादेखि भेन्टिलेटरलगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अस्पतालका उपनिर्देशक डा श्रेष्ठको भनाइ छ । “कोरोना भाइरस सङ्क्रमण तेस्रो लहरका बिरामीको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा भौतिक संरचनाको पूर्व तयारीमा हामी जुटेका छौं”, उनले भने ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्