चितवनः जिल्लामा केही समययता जन्मदिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ। अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पुर्याउन रक्तसञ्चार केन्द्रलाई मुस्किल पर्ने गरेकालेे जन्मदिनमा रक्तदान गर्ने प्रचलन शुरु भएकाे हाे।
आफ्नो ४२ औँ जन्मदिनका अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बुधबार सबेरै रक्तदान गरे। उनले आफ्नो रगतलाई प्रशोधन गर्न लाग्ने रू ८५० पनि आफैँले तिरे। उनले जन्मदिनमा रक्तदान गरेको यो छैठौँ वर्ष हो।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार केही दिनअघि नेपाली कांग्रेसका युवा नेता आनन्द राउतले पनि जन्मदिनमा रक्तदान गरेका थिए। उनकाे रगत एक बिरामीले निःशुल्क पाएको पौडेलले बताए।
यकिन तथ्याङ्क नभए पनि यसरी जन्मदिनको दिन रक्तदान गर्न आउनेहरू बढेको उनकाे भनाई छ। रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि पौडेल राजनीति दल र तिनका भ्रातृ र शुभेच्छुक सङ्घ सङ्गठनसँगै विभिन्न संस्थाको सहकार्यका कारण रगत आपूर्ति गर्न सहज हुँदै आएको बताउँछन्।
जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ। यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा रगतको माग हुने गर्दछ।
क्यान्सरका बिरामी, ठूलो सङ्ख्यामा हुने प्रसूति, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया यहाँ हुने भएकाले रगतको माग बढी भएको हो। नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ, पोखरा लगायतका ठूला शहरमा पठाउने गरेको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट यहाँ ल्याउनु पर्ने अवस्था आएको बताउँछन्।
जिल्लामा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गर्दछ।
प्रतिक्रिया