सुनसरीः धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरिद गर्न पहल शुरु गरेको छ। उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको राईले बताए।
एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनका लागि दुई लाख मात्रा खोप धरानमा आवश्यक पर्ने भएको भन्दै प्रमुख राईले स्वीकृति प्रदान गर्न माग गरिएको उल्लेख गरे। धरानमा रहेका सरकारी कर्मचारी तथा ज्येष्ठ नागरिकले भने प्रायः खोप लगाइसकेका छन्।
धरानमा कोरोनाको दोस्रो भेरियन्टयता एक हजार ६ सय ८६ जनामा सङ्क्रमण देखिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० रहेको छ भने ३८ जनाले ज्यान गुमाइसकेको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए।
प्रतिक्रिया