काठमाडाैंः शुक्रबार मध्यराति मन्त्रिपरिषद् बैठकले गरेकाे प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपति कार्यालयले सदर गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्न सिफारिश गरेको थियाे।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएकाे अवधिमा परेकाे दुवै दावी खारेज गरेसँगै शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्काे बैठक बसेकाे थियाे। बैठकले संविधानतः प्रतिनिधि सभा विघटन गर्ने र दुई चरणमा देशमा चुनाव गर्ने सिफारिस राष्ट्रपति कार्यालयमा पठाएकाे थियाे।
मध्यराति नै राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्बाट आएकाे सिफारिस सदर गर्दै चुनावकाे मिति घाेषणा भएकाे हाे।
संविधानकाे धारा ७६ काे उपधारा ५ बमाेजिम सरकार गठन हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने प्रावधान रहेकाे छ। याेसँगै देश मध्यावधि निर्वाचनतर्फ गएकाे छ।
प्रतिक्रिया