कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये केही दिनयता आधाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाे छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार एक सय ८० जनाको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएकाे छ।
त्यसअघि नमूना परीक्षण गराएका पाँच हजार तीन सय ४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार दुई सय ९० मा सङ्क्रमण पुष्टि भएको थियो। गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने हालसम्म पीसीआरबाट नमूना जाँच गरिएकामध्ये झण्डै १६ प्रतिशत सङ्क्रमित भएको पाइएको छ।
प्रदेशमा हालसम्म पीसीआरबाट एक लाख ६२ हजार दुई सय ७८ जनाको नमूना परीक्षण भएकामा २५ हजार चार सय ५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यस्तै गत वैशाखदेखि शुरु गरिएको एन्टिजेन परीक्षणतर्फ भने हालसम्म ३५ हजार एक सय ७२ जनाको नमूना परीक्षण भएकाेमा झण्डै १४ प्रतिशत अर्थात् चार हजार नाै सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशकाे मृत्यु दर पनि गत साता हालसम्मकै उच्च पुगेको छ। आइतबार मात्रै कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका गरी १६ सङ्क्रमितको निधन भएको थियो। एक सातामा प्रदेशमा एक सय २९ जनाको निधन भएको छ। अघिल्लो साता ९९ जनाको निधन भएको थियो।
निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका आठ हजार तीन सय ८७ जना छन्। नौ वर्षसम्मको उमेर समूहका एक हजार २२ बालबालिका सङ्क्रमित भएका छन्। त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका ६ हजार ६ सय ४, ४० देखि ४९ वर्ष उमेर समूहका तीन हजार ६ सय ५३, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार एक सय २४ र ६० देखि ६९ वर्ष उमेर समूहका आठ सय ६६ जना सङ्क्रमित भएका छन्।
तुलनात्मकरूपमा ७० वर्ष माथिको उमेर समूहका व्यक्ति कम सङ्क्रमित छन्। सङ्क्रमण र मृत्यु दर उच्च बनेसँगै कोरोनाको जस्तो लक्षण देखिएका धेरै सर्वसाधारण हाल होम आइसोलेशनमा रहेका छन्।
नमूना सङ्कलन गर्दा लामो लाइनमा घण्टौँसम्म उभिनु पर्ने अवस्थाले पनि सङ्क्रमण थप फैलिने जोखिम देखिएको छ। प्रदेशको धनगढीमा सञ्चालनमा रहेको एक मात्र अक्सिजन उद्योग बिग्रिएर उत्पादन बन्द हुँदा अक्सिजनको अभाव भएपछि जटिल अवस्थाका बिरामीको उपचार व्यवस्थापनमा थप समस्या भएको छ।
प्रतिक्रिया