डाेटीः कोरोना भाइरस सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा दुई सय ५९ जनाको निधन भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा गुणराज विष्टका अनुसार वैशाखभरीमा दुई सय ५९ जना सङ्क्रमितको निधन भएको हो।
स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको निधन भएको छ। सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइँ छ। कोरोना भाइरस शुरु भएदेखि हालसम्म यस प्रदेशमा तीन सय १७ जनाको निधन भइसकेकाे छ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम साता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन्। पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट एक सय नाै जनाको निधन भएको छ। अस्पतालमा अक्सिजन नपाउँदा तथा सङ्क्रमित बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसक्दा ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रतिक्रिया