म्याग्दीः अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो।
आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादित विद्युत् केन्द्रिय प्रणालीमा जोडिएको जानकारी दिए। “मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रिय प्रणालीमा जोडियो”,उनले भने, “परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ।”
परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली नारच्याङ आएको छ। नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षण सफल भएको थियो।
परीक्षण उत्पादनको चरण दुई सातकाे हुनेछ। पन्ध्र दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यवसायिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताए। यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना सङ्क्रमित भएपछि करिब डेढ महिना पछाडी धकेलिएको हो।
विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ। दुई हजार दुई सय ७०.५ मिटर सुरुङबाट ल्याएको पानी दुई सय ५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार पाँच सय मिटर पेनस्टक पाइप जडान गरिएकाे छ।
पाँच अर्ब ६४ करोड रूपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रू १३ करोड ४३ लाख रहेको छ। यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो।
प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले रू ७० करोड, जलविद्युत् विकास कम्पनीले रू एक अरब र नेपाल बैंकले रू ५० करोड ऋण लगानी गरेका छन्। यसैगरी नविल बैंकले रू एक अरब, लक्ष्मी बैंकले रू ४० करोड, सिद्धार्थ बैंकले रू ३० करोड र एस डेभलभमेन्ट बैंकको रू ३० करोड ऋण लगानी रहेको छ।
आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार पाँच सय १२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरूलाई दश लाख कित्ता सेयर बाँडफाँट गरिएको छ। साधारण सेयर पनि बाँडफाँट भइसकेको छ।
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो। मिस्ट्री खोलाबाट विद्युत् उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ।
प्रतिक्रिया