काठमाडौंः उपत्यकामा गएरातिदेखि भएकाे वर्षा राेकिएकाे छ। रातिको भन्दा हाल पानी पार्ने मौसम प्रणाली केही कमजोर रहेको कारण वर्षा राेकिएकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यद्यपि दिउँसो अर्काे प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइँ छ। हाल नेपालमा बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव छ।
यस्तै सुदूरपश्चिममा विकास भएको पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो। उक्त प्रणाली पूर्वसम्म पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हाे।
आज बिहान पानी परेर केहीबेर रोकिए पनि दिउँसो फेरि नयाँ प्रणालीको विकास भई ठाउँठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिइन्।
आज देशभर माैसममा सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा केही बढी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्।
प्रतिक्रिया