एजेन्सीः फिलिपिन्समा आइतबार भएको सैनिक विमान दुर्घटनामा परेर निधन हुनेकाे संख्या ५० पुगेको छ। फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो।
आइतबार नै कम्तीमा पनि १७ जनाको निधन भएको बताइएको थियो। सैनिकहरू चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए। ती घाइतेमध्ये केहीको निधन भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो।
सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ। सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो। स्थानीय सञ्चारमाध्यमहरूमा प्रशारित दृष्यहरू र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ।
विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको छ। सो विमान कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरू लिएर गैरहेको थियो। विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको थियाे।
फिलिपिन्सको रक्षा मन्त्रालयले दुर्घटनाको कारणका बारेमा सरकारले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ। सेनाका प्रवक्ताले सो विमानको दुर्घटनाका बारेमा आइतबार साँझदेखि नै अनुसन्धान शुरू भएको बताएका छन्।
प्रतिक्रिया