काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो । साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नायिका दीपाश्री निरौला, नायक पूर्णविक्रम शाहलगायत ४० अभियानकर्मीको सक्रियता थियो । विश्व वातावरण दिवसका अवसरमा आज मेची महाकाली सफाइ अभियानको आह्वानमा ६० स्थानमा वृक्षरोपणसमेत गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोजी गरी उद्यान बनाउने अभियान चलाइएको जानकारी दिए । वनसचिव कँडेलले आगामी वर्ष देशभर वृक्षारोपणका लागि बजेट व्यवस्था गरिएको जानकारी दिए । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले काठमाडौँ उपत्यकाका नदी किनारमा वन मन्त्रालयसँग सहकार्य गरेर वृक्षरोपण गरिने जानकारी दिए । पूर्व मुख्यसचिव पौडेलले आठ वर्षअघि देखि नै वृक्षरोपणलाई नियमित रुपमा गरिँदै आएको सुनाए ।
विष्णुमती सफाइको ३५४औँ हप्तामा नदी किनारस्थित टोखा नगरपालिका–९ शिवमन्दिर क्षेत्रमा सफाइसहित वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर कपुर, बैँस, जामुन जातका ३० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । वृक्षरोपण कार्यक्रममा विभिन्न टोल सुधार समितिका प्रतिनिधिको सक्रियता थियो । यसैगरी माथिल्लो क्षेत्रको विष्णुमती सफाइ अभियानले पनि नदी किनारस्थित धनेश्वर क्षेत्रमा वृक्षरोपण गरेको अभियानकर्मी रामकुमार श्रेष्ठले सुनाए ।
प्रतिक्रिया