महोत्तरीः जिल्लाको विभिन्न स्थानमा आज आइतबार बिहानै कोरोनाबाट तीन जनाको निधन भएको छ। आज बिहानै तीन जनाको निधन भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ।
कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन्। उनका अनुसार आज गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७ का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको निधन भएको हो।
तीनै जना मृतकलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।
आज बिहानसम्म जिल्लामा कोरोनाकाे सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन्। त्यसैगरी ६ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन्।
प्रतिक्रिया