सुर्खेतः कर्णाली प्रदेश अस्पतालले काेराेना सङ्क्रमित बिरामीलाई भर्ना नगर्ने भएकाे छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रबार जारी गरेकाे एक सार्वजनिक सूचनाका अनुसार अस्पतालले थप सङ्क्रमितलाई भर्ना नलिने बताइएकाे हाे।
प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा नेपालगञ्जबाट आउने अक्सिजन आपूर्ति हुन नसकेका कारण सङ्क्रमितलाई भर्ना गर्न नसकिने सूचनामा उल्लेख गरिएकाे छ।
सरकारी अस्पतालले नै महामारीकाे समयमा हात उठाएपछि यस निर्णयकाे सर्वत्र विराेध भइरहेकाे छ भने स्थानीयमा त्रास बढेकाे छ। हरेक वर्ष कराेडाैंकाे बजेट पार्ने, आफ्ना मान्छेलाई जागिर खुवाउने तर महामारीमा जनतालाई सेवा दिन नसक्ने भन्दै स्थानीयले आक्राेस पनि पाेखेका छन्।
यता कर्णाली प्रदेश सभाकाे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता यामलाल कँडेलले सामाजिक सञ्जालमार्फत महामारीकाे समयमा उपचारकाे व्यवस्था गर्न नसक्नु प्रदेश सरकारको असक्षमताको पराकाष्ठा अस्पतालमा देखिएको आरोप लगाएका छन्। उनले प्रदेश सरकारसँग श्रोतको अभाव नरहेकाे र संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै रहेकाे पनि बताएका छन्।
प्रतिक्रिया