कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा निधन भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलकाअनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको निधन भएको हाे।
शनिबार प्रदेशमा पीसीआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार चार सय १५ को नमूना परीक्षण गर्दा चार सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे। हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको निधन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।
सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ। अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ।
कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्। कोरोना सङ्क्रमण र मृत्यु दर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन्। प्रदेशमा एक हजार आठ सय ५२ सक्रिय बिरामी पुगेका छन्।
प्रतिक्रिया