काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा रहेका छन् ।
रविकी श्रीमती ३६ वर्षीया बबितादेवी चौधरीको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
चार दिनअघिको घटनामा अनुले बबितालाई मोबाइल चोरी गरेको अभियोगमा कुटपिट गरेकी थिइन् ।
कुटपिटबाट घाइते भएकी बबिताको पशुपतिनाथको राम मन्दिरमा निधन भयो । उनको शनिबार निधन भएको थियो ।
घटना पश्चात रविले खाल्डो खनेर श्रीमतीको शव पुर्न खोजेका थिए । अरुले थाहा पाउने आशंकामा उनले मृत्यु भएकै ठाउँमा शव जलाएका थिए ।
प्रहरीले घटनाको जानकारी पाएपछि जलाएको स्थान पुग्दा शवको केही भाग मात्र फेला पारेको थियो । बाँकि भएको शवलाई पोष्टमोर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
प्रहरीका अनुसार कुटपिट पश्चात समयमै उपचार नपाउँदा बबितादेवीको निधन भएको थियो ।
प्रतिक्रिया