काठमाडाैंः अभिनयमा चर्चा कमाएकी कलाकार उर्मीला लाम्गादे गायनमा पनि उत्तिकै दख्खल राख्छिन्। गायनको पूरानो धोको मेट्न उनले प्रवासमा रहेर पनि आफ्नो सांगीतिक साधनालाई अगाडि बढाइ रहेकी छिन्।
यही सन्दर्भमा उनको महत्वकांक्षी सांगीतिक कोशेली 'माया बैगुनी क्यारम नभै नहुनी' गीति एल्बम चैत तेश्रो साता बजारमा आउने भएको छ।
वसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा उर्मीलाको एकल गायन छ। म्युजिक भिडियोमा भने कलाकार दिलीप रायमाझी र गायिका लाम्गादे स्वयंको अभिनय रहेको छ। म्युजिक भिडियाेकाे निर्देशन विक्की पुलामीले गरेका छन्।
नेपाली सामाजिक रुपान्तरण अभियानकी सक्रिय सदस्य लाम्गादेले सामाजिक टेलिभिजन श्रृङ्खला 'दलन'बाट आफ्नो कला यात्रामार्फत जनमनमा प्रभाव पार्न सफल भएकी थिइन्।
"यो मेरो प्रयासलाई श्रोता दर्शकले मन पराएर कला क्षेत्रको मेरो हुटहुटीमा साथ दिनु हुने नै छ भन्ने मलाई विश्वास छ", विमोचनको पूर्व सन्ध्यामा मर्यादान्यूजसँग कुरा गर्दै लाम्गादेले भनिन, "कला संगीत मेरो जीवन हो, प्रवासमा छु भन्दैमा कहाँ चटक्कै छोड्छु र!"
कलाकार लाम्गादे हाल अमेरिकामा बस्छिन्।
प्रतिक्रिया