सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कानून बनाएर मात्र छुवाछूत, विभेद हट्न नसक्ने भन्दै व्यवहारमा पनि छुवाछूत हटाउनेतर्फ सबैको पहल हुनुपर्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ विधेयक माथि भएको छलफलमा भाग लिने सदस्यले दलितमाथि छुवाछूत र विभेद गर्ने, राज्यका निकायहरुमा दलितको अस्तित्व अस्वीकार गरी अपमान गर्नेजस्ता सोच र व्यवहार अझै हट्न नसक्दा सुदूरपश्चिम प्रदेश बदनाम भइरहेको बताए ।
उनीहरुले प्रदेशमा व्याप्त छुवाछूत र विभेदको समस्या समाधानका लागि दलित शक्तीकरणसम्बन्धी विद्येयक ल्याएर प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको बताए । छलफलमा प्रदेशसभा सदस्य शान्ति नेपाली, देवराज पाठक, बलदेव रेग्मी, दुर्गाकुमारी कामी, टेकबहादुर रैका र देवकी मल्लले भाग लिएका थिए ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै छुवाछूत र जातीय विभेदका विरुद्ध कानूनअनुसार दण्डसजायको व्यवस्था गर्नका लागि यो विधेयक ल्याइएको स्पष्ट पारे। उनले ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’लाई सामाजिक समितिका दफावार छलफल गरियोस् भनी प्रस्तुत गरेका प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिक्रिया