माेरङः नेपाली कांग्रेस मोरङका पूर्वसभापति एवम् विराटनगर उपमहानगरपालिकाको पूर्व मेयर अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ।
विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा उनकाे निधन भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए। कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए।
उनी संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचितसमेत भएका थिए। ७५ वर्षकाे उमेरमा निधन भएका काेइराला पूर्व प्रधानमन्त्री सुशील काेइरालाका भाईसमेत हुन्।
आजै दिउँसो १ बजे शवयात्रा निकालिने र कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ। आजै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा अन्त्येष्टि हुने सचिव रेग्मीले जानकारी दिए। अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा डीला सङ्ग्रौला, अमृत अर्याल सहभागी हुने छन्।
प्रतिक्रिया