तनहुँः तनहुँको देवघाट गाउँपालिकाले अनौठो खेल प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाले नारी दिवसका अवसरमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको हो।
एक सय एघारौँ नारी दिवसका अवसरमा फागुन २४ मा सो प्रतियोगिता गर्न लागेको हो। देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ। उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए।
गाउँपालिकाले नारी दिवसका अवसरमा आयोजना गर्न लागेको विविध कार्यक्रममध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो। तनहुँ जिल्लामा यसअघि क्षेत्रीय होटल संघ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो।
गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ।
प्रतिक्रिया