काठमाडौँ : नेपाल बार एसोसिएसनले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले चौथो चरणको आन्दोलन घोषणा गरेको बारका महासचिब लीलामणि पौडेलले जानकारी दिए ।
वार्ताका लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएकै दिन बारले चौथो चरणको आन्दोलन घोषणा गरेको हो । महाससचिब पौडेलका अनुसार सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरिएको छ ।
यस्तै, सोमबार देशभरका अदालतमा कानून व्यवसायीले बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ । मुद्दा दर्ता नगर्ने, जिल्ला र उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने, संसदमा रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने र काठमाडौँ केन्द्रित कार्यक्रम गर्ने तय भएको छ ।
महासचिब पौडेलले शुक्रबार राणाले पठाएको पत्रबारे छलफल नभएको बताए । उनले राजीनामा दिने भएमात्र वार्ता बस्ने नत्र वार्तामा नबस्ने बताए । उनले राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताए ।
यस्तै बारको आन्दोलनमा बिहीबार र शुक्रबार प्रहरी बल प्रयोग गरिएकोमा बारले आपत्ति जनाएको छ । सोमबार देशभरका अदालतमा बहस पैरवी नगर्ने कार्यक्रम बल प्रयोगको विरोधमा भएको महासचिब पौडेलले जानकारी दिए ।
उनले संसारमा कहिँ पनि कानून व्यवसायीमाथि प्रहरीले बल प्रयोग नगर्ने भए पनि यहाँ एसएलआरसहितका सशस्त्र प्रहरी परिचालन गरिएको भन्दै आपत्ति जनाए । प्रहरीको लाठी चार्जमा बार अध्यक्ष श्रेष्ठसहित केही कानून व्यवसायी घाइते भएका थिए ।
प्रतिक्रिया