काठमाडौँ : मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरोका कारण घाइते हुनेको संख्या ११ पुगेको छ । हिम पहिरो देखेपछि भएको भागदौडमा ११ जना घााइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
आइतबार बिहान धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका—२ कोवाङसम्म आइपुगेको बताइएको छ । कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन् ।
भाग्ने क्रममा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको प्रहरीले बताएको छ । एक घरको छाना पनि हावाले उडाएको पुष्टि भएको छ ।
केही चौँरी हराएको हुन सक्ने पनि बताइएको छ । क्षतिको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।
प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो ।
प्रतिक्रिया