काठमाडौँ : उर्लाबारीका सनम शाक्यसँग जोडिएको साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले सजाय तोकेको छ । सोमबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय तोकेको गरेको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।
मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी फैसला भएको उनले बताए । सुन तस्करी प्रकरणमा सफाइ पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले जन्मकैद फैसला सुनाएको थियो ।
असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको भने थिएन । अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैदको सजाय भएपनि जन्मकैदमा जोडिने छैन ।
दुईवटै सजाय सँगसँगै अगाडि बढ्ने भएकाले अधिकतम सजायमात्रै कायम हुने उनको भनाइ छ । असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो ।
प्रतिक्रिया