काठमाडौँ : खराब मौसमका कारण सोलुखुम्बुको मेरापिकमा हराएका आरोहीको खोजीकार्य प्रभावित बनेको छ । हराइरहेका छेतेन शेर्पाको खोजीकार्यका लागि शनिबार अन्तर्राष्ट्रिय पर्यटक गाइडको टोली लुक्ला गएको भएपनि हवाई जहाज मौसम प्रतिकूल हुँदा अवतरण नभई काठमाडौं फर्किएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।
गत ५ दिनदेखि मेरापिक आरोही शेर्पा बेपत्ता छन् । उनको खोजीका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल टान, नेपाल माउन्टेनरिङ एसोसिएसन र एडभेन्चर भिक्टोरीका साथै प्रशासनको समन्वयमा पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा ७ जनाको टोली खोजीका लागि जाने एडभेञ्चर भिक्टोरीका सञ्चालक लक्ष्मणमिसन कार्कीले बताए ।
टोली काठमाडौंमा रहेको र मौसममा सुधार हुनासाथै अत्याधुनिक प्रविधि, सुरक्षालगायतका अवाश्यक सामाग्री लिएर खोजीका लागि टोली लुक्ला जाने बताइएको छ । शेर्पा गाइडको टोलीले दैनिक रूपमा नै छेतेनको खोजी गर्दै आएको छ । शेर्पाको यसअघि पनि हेलिकोप्टरबाट खोजी गरिएको थियो ।
प्रतिक्रिया