काठमाडौँ : दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामो दुरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो ।
यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए । शुक्रवार सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपछि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ । सिटौलाले अनलाइन प्रविधिमार्फत पनि बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए ।
प्रतिक्रिया