एजेन्सी- सामाजिक सञ्जाल फेसबुकले म्यानमारको सेनाको प्रमुख फेसबुक पेज बन्द गरिदिएको छ। फेसबुकले आफ्नो हिंसा रोक्ने मापदण्डअनुसार सेनाको पेज बन्द गरिदिएको बताएको छ।
म्यानमारमा दुई प्रदर्शनकारीको मृत्यु भएको घटना लगत्तै फेसबुकले म्यानमारको सेनाको मुख्य आधिकारिक पेज बन्द गरिदिएको हो। म्यानमारको सेनाले फेब्रुअरी १ मा गरेको कूको विरोधमा अहिले निरन्तर प्रदर्शन भइरहेको छ।
फेसबुकका एक प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी नीतिअनुसार हामीले उक्त पेज बन्द गरिदएका हौ, जुन पेजमा पछिल्लो समय हिंशा भड्काउने किसिमका पोष्टहरु भइरहेका थिए।’ यस विषयमा प्रहरीका प्रवक्ताले भने कुनै प्रतिक्रिया दिइसकेका छैनन्।
पछिल्लो समय फेसबुकले मानव अधिकारको विषयलाई पनि संवेदनशीलरुपमा लिन थालेको छ। यसअघि सन् २०१८ मा पनि फेसबुकले म्यानमारका सेना प्रमुख मिन औंङ हालिङको पेज बन्द गरिदिएको थियो। त्यसका साथै अन्य १९ सेनाका अधिकारीहरुले चलाउने पेजहरु बन्द गरिएको थियो।
यसअघि गत नोभेम्बरमा निर्वाचन हुनुभन्दा अगाडि पनि फेसबुकले सेनाले सञ्चालन गरिरहेको ७० नक्कली खाता र पेज हटाएको घोषणा गरको थियो।
प्रतिक्रिया